April 21, 2014

धनकुटेका डायस्पोरिक गजल

                                            - प्रवीण बाँनियाँ

 

हिजोसम्म काठमाण्डौं भाषा, साहित्यका लागि केन्द्र मानिन्थ्यो । काठमाण्डौँमा बसेर लेख्नेहरु राष्ट्रिय भैहाल्थे । काठमाण्डौँबाहिर बसेर लेख्ने मोफसल हुन्थे । आज त्यही अवस्था छैन । सिर्जना र हस्तक्षेपका हिसाबले मोफसल दिनहुँ समृद्ध र सम्पन्न बन्दैछ । बरु, काठमाण्डौँ नयाँ मोफलस बन्दैछ आज । केही तथ्य र आधारहरुले मोफसललाई यसको दाबेदार बनाउँदैछ । हिजोको केन्द्रमा बसेर लेख्नेहरु आज नयाँ मोफलसका लेखकको कित्तामा पुग्दैछन् । मोफसलबाट जन्मेका कवि, लेखकहरु आज साहित्यको अग्रभागमा छन् । ‘पश्चिममा घाम अस्ताउन मात्रै आउँछ’ भन्ने पश्चिम आज आफूलाई साहित्यको राजधानी दावी गर्दैछ । सधैँ सिमानाबाट मालसामान ओसार–पसार गर्ने र भन्सार असुल्ने काँकरभिट्टाले आज साहित्य उत्सव मनाउन थालेको छ । उसले अब भाषाका कुरा गर्नेछ । किताबका कुरा गर्नेछ । कला, संस्कृतिका कुरा पनि गर्नेछ । यो समयको स्वभाविक विकासक्रम हो । प्रगति हो । अरु उज्यालोको संकेत हो ।
cover-Dhankute Kanchha

पूर्वलाई राजनीतिक आन्दोलनका हिसाबले उर्वर भूमि मानिन्छ । त्यो भन्दा बढी साहित्यका लागि मलिलो मानिन्छ । पछिल्लो दशकमा पूर्वले धेरै विशिष्ट लेखकहरु उत्पादन गरिसकेको छ । आज केन्द्र भनिने काठमाण्डौँमा बसेर चर्चा र बजारसत्ता हाँसिल गरिरहेका थुप्रै पेसेवर कवि, लेखकहरु छन्, जो यहीँका उत्पादन हुन् । केहीकेही मोफसलमै बसेर पनि हस्तक्षेपकारी सिर्जना गरिरहेका छन् । लेख्नेहरुको लहर उस्तै छ । रहरै रहरमा लेखनको क्षेत्रमा आएकाहरुले केही लेखे र, पाखा लागे । लेख्ने क्षमता भएकाहरु लेखिरहेकै छन् । अझै थप्रै आउनेछन् सिर्जनाकर्ममा । पूर्वेली युवा लेखक धनकुटे कान्छा लेखिरहनेमा पर्छन् । पूर्व उनको साहित्यिक कर्मथलो हो । सिर्जनाकर्ममा दुई दशक गुजार्दै गर्दा उनले नेपाली साहित्यलाई के–कति योगदान गरे, त्यसको हिसाब मैले गरिसकेको छैन । तर, उनको रचनामूल्य उच्च छ । लेखनी उदेश्यमूलक र अर्थपूर्ण छ । हस्तक्षेपकारी उपस्थिती छ । कलममा इमान्दारीता, निरन्तरता र दृढता छ । अब मैले धनकुटे कान्छा कस्ता लेखक हुन् भनेर पुष्टि गरिरहनु पर्दैन ।
dhanआज कवि, लेखकहरुलाई बजारसत्ताले गम्लङ्गै अंगालो हालिरहेको छ । पुँजीवादी बजारको बाहुपासमा बाँधिन पाउँदा थुप्रै लेखकहरु उचालिएका छन् । यस्तो बेला त्यही बजारलाई साक्षी राखेर धनकुटे कान्छा आफ्ना शक्तिसाली गजलहरुमार्फत् पुनः साहित्यको केन्द्रमा अर्को हस्तक्षेप गर्दैछन् । प्रसङ्ग उनको नयाँ गजलसङ्ग्रह ‘डायस्पोरिक नोस्टाल्जीया’को हो, जसलाई ‘बोन्साई साहित्य प्रतिष्ठान, नेपाल’ले भर्खरै प्रकाशनमा ल्याएको छ । कृतिमा सरदर आयामका जम्मा ७० वटा गजलहरु सङ्गृहित छन् । यो उनको चौथों कृति हो । यसअघि उनका तीन वटा कृति प्रकाशित छन् । सीधा हिसाबमा हेर्दा उनका गजलहरु नेपाली गजलको समकालिन धारभन्दा पर छैनन् । विषयवस्तुको छनोट, सन्दर्भहरु समान लाग्छन् । प्रस्तुतीमा उनी मिहिन छन् । शब्दसंयोजन, भावको सघनता र विम्बहरुसँगको उनको तालमेल उत्कृष्ट लाग्छ । अधिकांश गजलहरु प्रवास भोगाइका निजी अनुभूतिहरुको संगालोको रुपमा आएका छन् । तिनै गजलहरुको सारसंक्षेपमबाट कृतिको नामाकरण गरिएको छ ।
धनकुटे कान्छाको पेशा ठ्याक्कै यही भनेर भन्न सक्दिन म । उनले धेरै क्षेत्रमा काम गरेका छन् । उनी एक साहित्यक सर्जक त हुँदै हुन्, सञ्चारकर्मि पनि हुन् उनी । उनले रेडियो स्टेशनमा मेनेजरका रुपमा जागिर पनि खाए । टेलिभिजनमा कार्यक्रम पनि चलाए । पत्रपत्रिकामा नियमित स्तम्भ पनि लेखे । प्लस टु पढाउने काम पनि गरे । दमकस्थित एक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पनि संहाले । उसो त उनी कम्युनिष्ट पार्टीको जिल्लास्तरका सक्रिय नेता÷कार्यकर्ता पनि थिए कुनैबेला । पार्टीले आफ्नो नठानेपछि हङ्गामै गरेर पार्टीलाई पिँठ्यु फर्कादिएछन् उनले । समयसँगै पारिवारिक जञ्जिरताले गाँजिदै गए उनी ।
परन्तु, निकासको बाटो पहिल्याउँदै अरबतिर लागे । जीवनको सबैभन्दा उर्जाशील समयको करिब ३ बर्ष अरबमै बिताए उनले । अरब बस्दा पनि उनले साहित्य लेख्न बिर्सेनन् । उनको कलमले आराम लिएन कहिल्यै । उनको साँझ–बिहानको ड्युटीजस्तो बन्यो लेखनी पनि । यो कृति उतै परदेशमा तयार भएको रहेछ ।
गजल गेय विधा हो । थोरै हरफमा धेरैथोक भन्न सक्नु गजलको विशेषता हो । त्यो अवसर गजलले दिलाउँछ । भावनाको तादम्यता र प्रस्तुतीले गजललाई झनै सहज बनाइदिन्छ । त्यही भएर पनि धेरैले गजललाई भावना अभिव्यक्तिको भरपर्दो माध्यम ठान्छन् । धनकुटे कान्छा तीमध्ये एक हुन् ।
विशेषतः प्रस्तुत गजलसङ्ग्रह ‘डायस्पोरिक नोस्टाल्जीया’ प्रवास भोगाइका उनका निजात्मक अभिव्यक्तिहरुको संगालो हो । औसत गजलहरु उनले आफनो देश, घर, परिवार छोडेर टाढा बसिरहँदा तीप्रति मुखरित हुने भावना र सम्बोधनलाई दर्शाएका छन् । सीधै हेर्दा यी गजलहरु प्रवासी भोगाइका अनुभवहरु हुन् । प्रस्तुत गजलहरुमा भावगत पक्ष र प्रस्ततुीको तादम्यताले गजललाई ठूलो गुन लगाएका छन् । गजललाई हरेक तरहले पठनीय बनाउने उनले भरमग्दुर प्रयास गरेकै छन् । धेरै गजलहरु प्रवास भोगाइका भावनाबाट ओतप्रोत छन् । जे छन्, यथार्थ छन् । उनका औसत गजलहरु हेर्दा लाग्छ, प्रवासमै उनले सानो नेपाल राखेर बाँचेका रहेछन् ।
धनकुटेले गजललाई विरह–वेदना पोख्ने सस्तो माध्यम मात्रै बनाएका छैनन् । जीवन र प्रेमप्रति कुण्ठा मात्रै लेखेका छैनन् । गजलमा उनी संवेद्धनशील छन् । उनको मूल शक्ति भावनालाई कसरी सुन्दर तरिकाले अभिव्यक्त गर्न सकिन्छ भन्नेमै केन्द्रित छ । जीवनका दुःख र कष्टहरुलाई झिकेर त्यस ठाउँमा अरु नयाँ–नयाँ चिजहरु हाल्न चाहान्छन् उनी । जीवनलाई सुखहरुले सार्वभौम बनाउने प्रयास गर्छन् । दुःखहरुको पछाडि कहिल्यै पूर्णविराम लादैन भन्ने उनलाई थाहा छ । उकालो सकिएर ओरालो पनि आउँछ, आज अँध्यारोमै हिँड्यो भने भोलि बिहान हुन्छ, दुःखहरुपछि सुखहरु पनि आउँछन् भन्ने आसैआसमा उनी जीवनलाई भोग गरिरहेछन् । गजलमा उनी जति निरास छन्, त्यो भन्दा बढि आसावादी देखिन्छन्, कृतिभरिको उज्यालो पक्ष यही ।
खबरदार खतरामा देश छ
मूर्खहरुको इमान्दार सन्देश छ ।
………………………………..
आँखाबाट आँसु सधैँ दर्किनुको पीडा सोध
टाढा हुँदा मुटु सधैँ चर्किनुको मजा सोध ।
…………………………………..
सबै कुरा गुमाउनु पर्दोरैछ ज्यून
समयको काँडेतार भाँच्न सकिएन ।
…………………………………
तिमी सामु जून पनि चुक्छ अलिकति
तिम्लाई दुख्दा मलाई पनि दुख्छ अलिकति ।
धनकुटेले जीवनभरिलाई पुग्ने उज्यालो बटुलेका छन् । उनी पसिनाको कमाइलाई सम्पति ठान्छन् । इमान, आत्मासम्मानलाई जीवनको आधार मान्छन् । आज उनीसँग जे छ, त्यसमै खुसी छन् । उनमा महत्वकांक्षा छैन । लोभ पनि छैन । बेलाबेला उनलाई जीवन अलि नमिलेजस्तो लाग्छ । त्यतिबेला जीवनको लय मिलाउन खोज्छन् उनी । बेलाबेला दुःखहरु, पीरहरु बढेजस्तो लाग्छ, त्यतिबेला दुःखहरुलाई घटाउन खोज्छन् उनी । गजल लेखन उनको सोख होइन । बरु, उदेश्यमूलक लेखनी हो । सिर्जनामा उनी वेइमानी गर्न जान्दैनन् । रचनामा गद्धारी स्वीकार्दैनन् । कला फगतः कलाका लागि मात्रै नभएर जीवनका लागि हो भन्ने मत छ उनको । समाजभन्दा पर गएर उनी बस्न सक्दैनन् । समाजबाट टाढिएर न उनका गजलहरु नै बाँच्न सक्छन् । उनका गजलहरुको अस्तित्व समाज र मानिसभन्दा पर गएर बाँच्च पनि सक्दैन । अब यहाँबाट हेर्दा धनकुटेका गजल कुन दर्जामा पर्छन्, त्यो म ठ्याक्कै भन्न नसकुँला । तर, यिनको रचनामूल्य छ । जुन दिन यस्ता गजलहरु रहँदैनन्, त्यो दिन अरु थुप्रै चिज रहँदैनन् ।
यो कृति आममानिसको जनजीवनप्रतिको सम्बोधन हो । समकालिन समाजको सग्लो प्रतिवेदन पनि हो । प्रस्तुतीको चरम सुन्दरता, भावको सघन अभिव्यक्ति, विम्बहरुको लोभलाग्दो प्रयोग, शब्दहरुसँग खेल्न सक्ने खुबीको विशिष्टता आदि गजलका पहिला शर्तहरु हुन्, यी शर्तहरुलाई जित्न सकिएन भने गजलहरु गजल नभएर अरु नै केही हुन पुग्छन् । यहाँ कृतिभित्र केही कमिकमजोरीहरु पनि छन् । गजलहरु राम्रा हुँदाहुँदै पनि कतिपय गजलहरुमा सुन्दरता पुगेको छैन । भाषागत त्रुटि निख्रिएको छैन । गजल लेखनको अनुशासनप्रति लेखक सचेतै छन् । बरु, कतैकतै अभिव्यक्तिलाई प्रभावकारी बनाउनबाट चुकेका छन् । अरु जे छन्, गजलमै छन् । पाठकसत्ता र बजारसत्तासँग जुध्ने जिम्मा कृतिलाई नै छाडिदिऊँ । अतः समकालिन नेपाली गजलमा पूर्वबाट धनकुटे कान्छाले ‘डायस्पोरिक नोस्टाल्जीया’मार्फत् आफ्नो हिस्सा लिने छन् ।

साभार-गरिमा मासिक, २०७० कार्तिक
 

No comments:

Post a Comment