August 20, 2015

सर्वसाधारणको ध्यान घरेलु तथा साना उद्योगमा

प्रकाश धौलाकोटी, साउन , तेह्रथुम ।
केही वर्ष यता घरेलु तथा साना उद्योग तर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको पाइएको छ । कृषि तथा पशुपालन भन्दा उद्योग गरेर सहजै र उत्तिकै कमाउन सकिने भएपछि सर्वसाधारणहरु घरेलु उद्योग तथा व्यापार तर्फ आकर्षित भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।

हालसम्म ५ सय २४ वटा घरेलु तथा साना उद्योगहरु दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय का शिक्षक नरप्रसाद उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये १ सय ७४ वटा घरेलु उद्योग छन् भने बाँकी ३ सय ५० वटा उद्योगहरु साना उद्योग हुन् । ती उद्योगमा २ अर्ब १ करोड ८७ लाख २ हजार रुपैयाँको लगानी भएको छ ।

जिल्लाका सबै साना तथा घरेलु उद्योगमा मात्रै यत्तिको धेरै लगानी भएको शिक्षक उप्रेतीले जानकारी दिनुभयो । ती उद्योगमा ३ हजार ४ सय २४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । पछिल्लो पटक शिक्षित युवाहरु पनि वैदेशिक रोजगारीमा जानुभन्दा व्यापार तर्फ लाग्न थालेको कार्यालयका नासु विमललाल श्रेष्ठले बताउनुभयो ।

जिल्लाका ३२ वटै गाविसका टोल टोलमा यातायातको सुविधा पुग्ने क्रम रहेकाले पनि व्यापार व्यावसाय सञ्चालनमा युवाहरुको संलग्नता बढेको हो । जिल्लामा किराना पसल सबै भन्दा धेरै सन्चालन तथा दर्ता भएका छन् । पछिल्लो पटक अनुगमनले निरन्तरता पाउँदा व्यवसायीहरुले व्यवसाय दर्ता गराउने क्रम पनि बढेको हो ।

यस्तै फेन्सी पसल, भाडा पसल, कपडा पसल र आइरन स्टोरहरुको संख्या पनि बढ्दो रहेको कार्यालयले जनाएको छ । जिल्ला व्यापारिक दृष्टीकोणले केन्द्रका रुपमा नरहेको भएपनि मुख्य बजारहरु म्याङ्गलुङ, वसन्तपुर, पोक्लाबाङ, शुक्रबारे र सक्रान्तिबजार क्षेत्रमा व्यापार व्यवसाय खोल्नेक्रम भने बढ्दै गएको छ । यस्तै घरेलु तर्फ सिलाई कटाई, ढाका वुनाई, कुटानी पिसानी र होटलहरु पर्याप्त संचालनमा आउन थालेका छन् ।

घरेलु तथा साना उद्योग विकास समितीको कार्यालयका शिक्षक नरप्रसाद उप्रेतीका अनुसार घरेलु तथा साना उद्योग सञ्चालन गर्ने विशेषगरि महिलाहरु रहेका छन् । सञ्चालित उद्योग मध्ये सबै भन्दा धेरै सिलाई कटाई, ढाका बुनाई र कुटानीपिसानी मिलहरु रहेका छन् ।

त्यसमा पनि ढाका वुनाई तथा सिलाई कटाई व्यावसाय महिलाहरुले घरमै सञ्चालन गरी उल्लेख्य कमाइ गर्दै आइरहेको कार्यालयका शिक्षक उप्रेतीले बताउनुभयो ।

घरेलु तथा साना उद्योग समितिको कार्यालयले जिल्लाको विभिन्न गाविसमा ढाका तथा सिलाई कटाई सम्बन्धि तािलमहरु सञ्चालन गरी सस्तो शूल्कमा मेसिन उपलब्ध गराएकाले महिलाहरु व्यावसायिक बन्दै गएको उहाँको भनाइ छ ।

खेतबारीमा काम गर्दा बढी परिश्रम गर्दै पनि प्रतिफल मौषममा भरपर्ने र जीवीकोपार्जन गर्न समस्या हुने भएपछि सीप सिकेर घरमै व्यावसाय गर्न थालेको उनीहरुले बताएका छन् । कार्यालयका अनुसार जिल्लाका तम्फुला, मोराहाङ, आम्बुङ, वसन्तपुर, पञ्चकन्या, सिम्ले, इसिवु, खाम्लालुङ्ग, थोक्लुङ र ह्वाकु गाविसबाट घरेलु तथा साना उद्योगहरु को दर्ता बढी भइरहेको छ ।


No comments:

Post a Comment