August 20, 2015

कहिले खेलियो पहिलो पटक फुटबल, अनि किन झुम्मिन्छन दर्शक ?



काठमाडौं । संसारकै सबैभन्दा बढी दर्शक बटुल्ने खेलको रुपमा परिचित फुटबल । संसारका हर कुनामा सबैभन्दा लोकप्रिय खेल यही हो ।
शारीरिक स्फूर्ति, उन्नत खेल कौशल तथा अनुशासित खेल संयोजनको आवश्यकता पर्ने फुटबल खेललाई बालकदेखि बृद्धसम्म सबैले उत्तिकै रुचाउने गरेको पाईन्छ । फुटबलको इतिहास खोतल्ने हो भने अत्यन्तै रोचक तथ्यहरु फेला परेका छन् ।
यो खेल प्राचीन ग्रिकहरुले पनि खेल्ने गरेको पाईएको छ । त्यसबेलाको फुटबल खेललाई हार्पास्टोन भनिन्थ्यो । त्यसैगरी रोमनहरुले खेल्ने त्यस्तै किसिमको फुटबल खेललाई हार्पास्टुम भनिन्थ्यो ।
मध्ययुगमा इटलीमा फुटबल खेल खेलिन तथा बिकसित हुन थाल्यो । त्यसैताका पोलिनेसियाका बासिन्दाहरुले पनि बाँसका फाइबरबाट बनेका फुटबलले धेरै किसिमका खेलहरु खेल्ने गर्थे भने एस्किमोहरु हिमाली झारपातका बिरुवाहरुको डल्लो बनाई फुटबल खेल्ने गर्थे । त्यसबेला खेलिने खेलका स्वरुपहरु अलग अलग थिए ।
आजभोलि खेलिने बिभिन्न किसिमका फुटबलहरु इंग्ल्याण्डमा खेलका रुपमा बिकसित तथा संयोजित भए । त्यसबेला नै पश्चिमा देशहरुमा फुटबल यति लोकप्रिय थियो कि इंग्ल्याण्डका राजा एडबर्ड द्धितीयाले सन् १३१४ मा तथा हेनरी छैठौें यस खेलमाथि प्रतिबन्ध नै लगाए ।
त्यसरी फुटबल खेलमाथि प्रतिबन्ध लगाउनुको कारण चाँहि फुटबल खेलका कारण फौजका सिपाहीको क्षमता जोगाउनु थियो । त्यसबेला फौजका सिपाहीहरु फुटबल खेलप्रति अति आकर्षित भएका थिए ।
त्यसका कारण फौजका सिपाहीहरु युद्धमा आवश्यक पर्ने सैनिक कला धनुर्बिधालाई बेवास्ता गर्न थालेका थिए । त्यसैले सेनामा राम्ररी निशाना लगाउन सक्ने सैनिकको नै खडेरी लाग्न थाल्यो । मध्यकालमा फुटबल खेलमाथि बिभिन्न सात जना शासकहरुले अलग अलग समयमा पटक पटक प्रतिबन्ध लगाएका थिए ।
तर प्रतिबन्धले यो खेलको लोकप्रियता तथा बिकासलाई रोक्न भने सकेन  फुटबलले आधुनिक र ब्यबस्थित स्वरुप सन् १८६३ मा भएको मानिन्छ । त्यसै बर्षदेखि इंग्ल्याण्ड फुटबल एशोसिएशनको गठन भयो । सन् १८७२ मा इंग्ल्याण्ड र स्कटल्याण्डका बीच पहिलो अन्तराष्ट्रिय खेल भयो ।
पछि फुटबल एशोसिएशन कपको शुरुवात भयो सने १८८७ मा भारतमा डुरंड कप प्रतियोगिता आयोजना गरियो । यो प्रतियोगिता बिश्वको दोश्रो आधुनिक फुटबल प्रतियोगिता मानिन्छ । ओलम्पिक खेलमा फुटबल खेल सन् १८९६ देखि समावेश गरियो
शुरुका चारवटा ओलम्पिकमा फुटबल प्रतियोगिताको पदक इंग्ल्याण्डले जितेको थियो । यता सन् १९०४ मा युरोपका सातवटा फुटबल संगठनहरुको एक बैठक बस्यो ।
फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्डस्, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्डका फुटबल संगठनहरु सहभागी रहेको उक्त बैठकले फुटबल खेललाई अन्तराष्ट्रिय रुपमै एकरुप पार्न तथा ब्यबस्थित ढंगले सञ्चालन गर्न एउटा अन्तराष्ट्रिय संस्था बनाउने निर्णय गर्यो ।
फलत अन्तराष्ट्रिय फुटबल महासंघको जन्म भयो । फिफा गठन भएकै अवसरमा भएको पहिलो बैठकमा फिफाले प्रत्येक चार बर्षमा एक पटक बिश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गर्यो ।
फिफाको बिचारमा युरोप बाहिर पनि फुटबल खेलको जुन लोकप्रियता छ र खेलको स्तर जुन छ त्यो अन्तराष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्नका लागि अनुकुल एवम् योग्य छ ।
तर अन्तराष्ट्रिय स्तरको बिश्वकप फुटबल सञ्चालन गर्ने निर्णय तत्काल कार्यान्वयन हुन सकेन । निर्णय भएको करीब २६ बर्षपछि मात्र सन् १९३० मा पहिलो पटक बिश्वकप फुटबल प्रतियोगिता उरुग्वेमा आयोजना गरियो ।
उरुग्वेमा भएको उक्त पहिलो बिश्वकप फुटबल प्रतियोगितामा आयोजक राष्ट्र उरुग्वेले नै अर्जेन्टिनालाई फाइनलमा पराजित गर्यो । त्यस खेलमा १३ वटा टीम सहभागी थिए ।
युरोपका  शक्तिशाली राष्ट्रहरुको पहलमा भएकोले मात्र नभई आर्थिक रुपमा नै पनि सफल भएको उक्त प्रतियोगिता बिश्वब्यापी रुपमा नै आम जनमानसको ध्यान आफूतिर तान्न सफल भयो । अव युरोपका अन्य प्रमुख राष्ट्रहरु पनि यस खेलप्रति आकर्षित भए तर इंग्ल्याण्ड फिफाको सदश्य भइसकेको थिएन ।
त्यसैले उसले बिश्वकप फुटबल प्रतियोगितामा भाग लिन अस्वीकार गर्यो । सन् १९३४ को बिश्वकप फुटबल फासिस्ट तानशाह मुसोलिनले शासन गरिरहेको देश इटलीमा भयो । उक्त प्रतियोगिता पनि आयोजक देशले नै अर्थात इटलीले जित्यो ।
सन् १९३८ को बिश्वकप फुटबल प्रतियोगिता फ्रान्सले आयोजना गर्यो । यस पटक पनि प्रतियोगिता इटलीले नै जित्यो ।
रोचक कुरा त के छ भने यो बेलासम्म आइपुग्दा फुटबलमा ३६ वटा राष्ट्रका टीमहरुले भाग लिएका थिए र बिश्वकप फुटबलको ईतिहासमा पहिलोपटक अन्तिम १६ जना प्रतियोगीहरु छान्नका लागि सहभागी राष्ट्रहरुबीच पूर्व छनौट प्रतियोगिता समेत सञ्चालन गर्नुपरेको थियो ।
अन्य खेलहरुलाई जस्तै बिश्वयुद्धले बिश्वकप फुटबल प्रतियोगितालाई पनि ठूलो बाधा पुर्यायो र सन् १९५० मा आएर मात्र ब्राजिलमा बिश्वकप फुटबल पुन सञ्चालन हनु सक्यो ।
पहिलोपटक इंग्ल्याण्डले भाग लिएको यस प्रतियोगितामा इंग्ल्याण्डको टीम अमेरिकाको टीमबाट १ का बिरुद्ध शुन्य गोलले पराजित भयो । यस पटकको प्रतियोगिता आयोजक राष्ट्र ब्राजिललाई हराएर उरुग्वेले जित्यो ।
स्वीट्जरल्याण्डमा भएका सन् १९५४ को बिश्वकपमा जर्मनीले हंगेरीलाई परास्त गरेर जित्यो । बिश्वकप प्रतियोगितकै कारण फुटबल खेल बिश्वब्यापी रुपमा सबैभन्दा लोकप्रिय खेलको रुपमा परिचित भयो ।
बिश्वकप फुटबल तथा यस खेलको बढ्दो लोकप्रियता के ले पनि प्रष्ट पार्न सक्छ भने शुरुवातमा १३ वटा मात्र टीमले भाग लिएको बिश्वकप प्रतियोगितामा सन् १९९४ सम्ममा आइपुग्दा बिश्वका १ सय ४० भन्दा धेरै राष्ट्रका टीमले भाग लिएका थिए ।
यति ब्यापक परिणाममा सहभागी हनुकै कारण बिश्वकप प्रतियोगिताकका लागि प्रत्येक महादेशभित्रका देशहरु बीच नै छनौट प्रतियोगिताको आयोजना हुन्छन् । यसरी छनौट हुँदै गएको अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउँछन् ।
आजभोलि बिभिन्न किसिमका फुटबल खेलहरु प्रचलित छन् तर सबैभन्दा लोकप्रिय फुटबल चाहिँ खुट्टाले हानेर खेलिने नै हो । (एजेन्सीको सहयोगमा)

No comments:

Post a Comment