August 20, 2015

जिल्लाकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता


प्रकाश धौलाकोटी । साउन, तेह्रथुम । जिल्लामा हाल सम्मकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ । यस वर्षको कृष्ण जन्माष्टमीको अवसरमा जिल्लाको खेलकुदमा विकास सँगै युवाहरुको क्षमता अभिवृद्धि गराउने उदेश्यले सामुदायिक चेतना अभिवृद्धि तथा बातावरण मैत्री राष्ट्रिय विकास संस्था (युक्यानडु) ले सदरमुकाम म्याङलुङमा सो प्रतियोगिताको आयोजना गरेको हो ।
कृष्ण जन्माष्टमीको अवसरमा भाद्र १३ गते देखि एक साता सम्म चल्ने प्रतियोगिताको विजेताले जिल्लामा हाल सम्मकै उच्च एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यो राशी फुटबल खेल तर्फ जिल्लामा हाल सम्म सन्चालन भएका प्रतियोगिताहरु मध्ये कै सबैभन्दा धेरै पुरस्कार राशी हो । यस्तै प्रतियोगितामा उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछ । दुवै विजेतालाई आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष शिक्षित तुम्बाहाम्फेले बताए ।

फुटबल सँगै लिम्बुहरुको धान नाच लगायत अन्य सांस्कृतिक कार्यक्रमहरु पनि सन्चालन हुने छन् । फुटबल प्रतियोगिता तथा मेलाको पुर्वार्ध र समापन पछि बजार सरसफाइको कार्यक्रम समेत आयोजक आफैले राखेको संस्थाका सहसचिव रामकुमार राईले बताए । जलबायु परिवर्तन समेतलाई ध्यानमा राख्दै बजारमा बढ्दो फोहोर र प्लाष्टिक जन्य पदार्थको मात्रालाई कम गर्ने गरी सरसफाइको आयोजना गरिएको हो, उनले भने– युवाहरु आफैले पनि समाज विकासमा योगदान गर्न सकिन्छ भन्ने ध्येयले सचेतनाका लागि पनि हामीले यस्तो कार्यक्रम राखेका हौँ ।

गएका वर्षहरुमा पनि सदरमुकाम म्याङलुङमा विभिन्न युवा समुह तथा क्लबहरुको सहयोगमा कृष्ण जन्माष्टमीको अवसरमा खेलकुद लगायत विभिन्न कार्यक्रम सन्चालन हुने गरेका थिए । पुर्वका विभिन्न जिल्लाहरुको तुलनामा खेलकुदमो पछाडि मानिने तेह्रथुममा यस अघि यत्तिको ठुलो राशीको प्रतियोगिता सन्चालन हुन सकेका थिएनन् ।

त्यसो त जिल्लामा फुटबल खेलका लागि उपयुक्त खेलमैदान सदरमुकाममै पनि छैन । खेलमैदान नहुँदा वर्षेनि हुने खेलकुद प्रतियोगिताहरु सदरमुकाम म्याङलुङको टुँडिखेल स्थित साप्ताहिक हटिया लाग्ने मैदानमा हुने गरेका छन् । जिल्लामा वर्षेनि विभिन्न संघ संस्था र खेलप्रेमीहरुको संयोजनमा खेलकुद प्रतियोगिताहरु हुने गरेपनि भनेजति अग्रता जिल्लाले लिन नसकेको आयोजक संस्थाका अध्यक्ष तुम्बाहाम्फेले बताए ।

सरकारले खेलकुद क्षेत्रमा कम लगानी गर्ने गरेकाले पनि जिल्लाको खेलकुदको विकास भने जति गर्न नसकिएको सरोकारवालाहरु बताउँछन् । जिल्लामा युवाहरुकै आयोजना र निजी क्षेत्रकै लगानीमा वर्षभरिमा झन्डै दर्जन बढी खेलकुद प्रतियोगिताहरु हुने गरेका छन् । वर्षेनि लाग्ने कृष्ण जन्माष्टमी मेला सँगै मदन मेला, खोरुण्डे मेला, दिपावली मेला पुर्वान्चलकै पुराना र प्रख्यात मेला हुन् । यसबाहेक मोराहाङ्ग, सिम्ले, बसन्तपुर, सक्रान्ति, सम्दुमा पनि समय समयमा ठुलो धनराशी खर्चेरै भएपनि युवाहरुले प्रतियोगिता गराउने गरेका छन् ।

No comments:

Post a Comment