उनी हतपति रूँदैन थिए। उनको संघर्षको कथा लामो छ। सानोमा घाँस दाउरा गरे। खेत बिराए, भीर फोरे।
थुप्रै ठक्कर खाँदै सपनाको सहर काठमाडौंसम्म आइपुगे। पिएचडी गर्ने उनको
धोको संघर्षबीच पोको पर्यो। बाबु आमा सानैमा वितेकाले बैनी भाइका उनी
अभिभावक भए।
भाइ बहिनीकै भविश्यका लागि उनले आफू बिए पढेपछि पिएचडीसम्म पढ्ने आफ्नो सपनालाई सपनामै सिमित बनाए।
गाउँका मुखियासित लडे, सहरका सुब्बासित लडे। दुःखले सहरको कुनामा एउटा घर
पनि ठड्याए। यस्तै भाइलाई अस्ट्रेलियाँ पठाए उच्च शिक्षाका लागि। तर त्यै
भाइले बिर्सेपछि उनी भन्न थालेका छन्, ‘बेकार हो यो भावना, संवेदना!
बाहियात! कसैले नि आशले केही गर्नु हुन्न रै’छ। अब आँशु आउनेछैन मभित्र!
छुसी जिन्दगी!’
बिहेपछि छोरी जन्मीइन्। थालेको सानो ब्यापार फैलदै गयो। तल्लाघरे बुढा‘बा
लौरो टेक्दै उकालो आउँदा सधै गेटतिरबाटै भन्थे,‘भाग्यमानी रैछस् तुलसी तँ
त। हेर्, ऐले किस्नेको उन्नति! दुःख नि कम गरेको हो त? तँलाई कम थाहा होला,
मलाई सोध् न।” “हो ठुला बा! सही भन्नुभो! दुःखको फल त होला नि।” तुलसीले
हार्दिकताका साथ भन्थिन्।
अगाडि सानो फूलबारीसँगै चिटिक्कको एक तले घर। छोरी पनि बढ्दै गई। हेर्दा
हेर्दै दुई पास गरेर तीनमा गइ। सारै माया लाग्दी थिइ छोरी मोनिका। परिवारमा
मायाले सानु भनेर बोलाउँथे कृष्ण र तुलसीले।
वरपर छिमेकमा नि सबकी प्यारी थिइ ऊ। अत्यन्त चलाख। बुढाबा लौरो टेक्दै
हिँडेको देखे समात्दै घर लिएर आउँथी। अनि फ्रिजबाट केही निकालेर दिन्थी।
भरिपूर्ण झैँ थियो सबकुरा उनीहरुलाई। तर मोनिका आफ्नो ड्याडीसित खेल्न
नपाइने उजुरी चाहिँ गर्थी मामुसित- ‘ड्याडी कहिल्यै घर हुनुहुन्न मामु! म
सुत्नेबेलामा आउनुहुन्छ!’
‘ड्याडीको कति काम हुन्छ नि, सानु। काम नगरे के खाने त? तिमी गुड गर्ल
बन्ने हो नि। ड्याडीले तिमिलाई कति माया गर्नुहुन्छ,’ तुलसीले सम्झाउथिन्।
मोनिका तर्क ल्याउथी- ‘अँ होला, मेरो स्कुल एक्जिविसनमा त आउनुभएन।’
‘म गएँ नि त! ड्याडी घरमै नभएको मान्छे कसरि आउने सानु! जहिले पनि त्यै
भन्छ्यौ तिमी!’ तुलसीले यति भन्दा मोनिकाले निलो बनाई अनुहार। तुलसीले काम
छोडेर आएर उसलाई काखमा टासिन्। मोनिका सुक्कसुक्क मात्र गरीरही।
कृष्ण साच्चै व्यस्त हुन्थे। बिहानैदेखि जानुपर्ने ब्यवसाय रातिसम्म नि
नसकिने। ब्यवसाय प्रवर्धनका निम्ति उनी शनिबार पनि खट्थे। कहिलेकाँही तुलसी
र कृष्णबीच कुरा हुन्थ्यो- ‘कैले त समय निकाल्नु न। छोरी रिसाएर फायर छ
एक्जिविसनमा नगएर। आफै सम्झाउनु। उसलाई ड्याडी ममीसँग घुम्न मन भाको होला म
एक्लै कसरी सम्झाऊँ?’
‘तुलसी! धेरै मिहेनत गरेर यहाँ पुगेको हो नि। भाइले विर्सियो। अब त हामीलाई
कसैको सहयोग चाहिन्न। तर मैले लत्तो छोड्ने हो भने हाम्रा सबै ग्राहक
गुम्छन्। मुखको गास जान्छ। प्रतिश्पर्धा कस्तो छ तिमीलाई थाहा छ नि। एकदिन
छोड्दा कस्टमर भड़किहाल्छन्। जाँडरक्सी जुवा तास गरेको छैन। मेरो पो अरू को छ
र? तिम्रै लागि अनि यहि छोरीका लागि त हो नि दौडधुप’, तुलसी गहभरी आँसु
पारेर श्रीमानकै हरमा आफ्नो सिर बिसाउँदै भनिन्- ‘माया गर्नुहुन्न भनेको
हैन नि बाबा! छोरी सानी छ। कुरा बुझाउन गारो हुन्छ पो भनेको।’
‘सानु, सुती त?’ भन्दै कृष्ण छोरीसम्म पुग्दा मोनिका निदाइसकेकी थिइ। सानु
भन्दै एस्सो बोलाए। नउठेपछि बिहान बोलुँला भन्दै सधै झैँ च्यादर ओढाएर
छोडिदिए।
मोनिकालाई सानासाना कुराले खुब छुन्थ्यो। कक्षामा उत्कृस्ट थिइ, कलर र
चित्रकारितामा पनि अब्बल । ऊ आफ्नो श्रृजनाहरू मामुलाई गर्वसँग देखाउँथी।
तर ड्याडीलाई देखाउन बिरलै पाउँथी। हेरिहालेपनी कृष्णले हतारका कारण न उति
गढेर हेर्थे, न उत्पात प्रसंशा नै गर्थे। ‘गुड! वेल डन!’ भन्थे, त्यति धेरै
लाडिएर बोलिरहन्नथे।
अनि गास टिप्नै बेर हुन्थ्यो। अफिसको रेकर्ड काम घरमा गर्थे। केटाकेटीलाई
उनीहरुको सानोतिनो कामको पनि बरू अलि धेरै नै प्रशंशा गरीदिँदा उत्साहित
हुँदारहेछन्। मोनिकालाई लाग्थ्यो- त्यो खाले उत्साह उसले आधामात्रै पाई।
अनि ऊ खिन्न हुन्थी।
मोनिकाको जन्मदिन थियो त्यो दिन। तुलसी र मोनिका दुबैले कृष्णलाई खुब
अनुरोध गरेका थिए त्यसदिन चाडो घर आउनुपर्छ भनेर। कृष्णले ‘नि हुन्छ भनेका
थिए।
अफिसमा पुगेपछि उनको पश्चिम एरियाको एक सहकर्मीले छोडिँदिदा उनी झन् साबिक
भन्दा झन् ढिलो आइपुगे। मोनिकाले धेरै कुरिछ- आफ्नो ड्याडीलाई आफ्नो चित्र
प्रथम भएर अब अन्तर-स्कुल लेबलमा पुगेको कुरा सुनाउन, स्कुलकी मिस र साथीले
दिएका जन्मदिनका उपहार अनि मामुले किन्दिएको फुलबुट्टे कार्टून पेन्ट
गरेको गन्जी र जुत्ता देखाउँन।
उसको सारा इच्छा पुरा भएन। भोलिपल्ट उठेर देखाउन थाली। कृष्णले ‘गुड नाइस’
भन्दैथिए, मोनिकाले अचानक सोधी- ‘ड्याडी, अनि हजुरले ल्याउनुभाको गिफ्ट खै
त?’ कृष्ण ट्वाँ परे। अफिसको किचलोले उनले बर्थडेको कुरै बिर्सेछन्। ‘हिजो
भ्याइन सानु, आज ल्याउछु है पक्का!’ भन्दै मोटरसाइकलतिर लागे’नि मोनिका
धेरै बेर तुलसीको काखमा रोइरही। तुलसी के बोलुन्। खै कता कता उनलाई घरमा
बुढाबाले भनेझै भरिपूर्ण भएर नि खाली लाग्न थाल्यो।
अलि दिनपछि अचानक बेलुका राति मोनिका अबेरसम्म कोठामा चित्र बनाउँदैथीइ।
कृष्ण आइसकेका थिए। ‘के छ सानु’ भनेपछि ल्यापटपमा टाइप गर्न थाले। मोनिका
साविकभन्दा अबेरसम्म जागै थिइ त्यो दिन। अचानक ‘मामु मेरो औंला टास्सियो’
भन्दै बाहिर निस्की मोनिका। ‘के गरी लौन’ भन्दै किचनबाट तुलसी आइपुगिन्।
कुनै कडा जमाउने एड्हेसिव शायद सुपर ‘ग्लु’ले उसको औला जमेको रहेछ। कृष्णले
गालीको वर्षा नै गरे- ‘बेहोरा छैन दुई पैसाको, जान्ने हुनैपर्ने कहाँबाट
ल्याइस् यो ‘सुपर ग्लु’ हो कि के जिनिस हो! कति बाठी हुन्छेस् है तँ?’
पुल्पुलिएकी तर बुझकी मोनिका पहिल्यै रोएकी थिइ, ड्याडीको गालीले झन् रोइ।
बाइकमा तीनैजना भएर अस्पताल गए। त्यो टाँस्ने पदार्थ छुट्याएर मलम लगाएर घर
फर्कंदा मध्यरात भइसकेको थियो। छोरीको हातमा सुकेको ग्लुको टाटो र
खस्रोपना अझै थियो। कृष्ण रिसले तातेका थिए।
‘केके तयार गर्नु थियो ल्यापटपमा! बाह्र बज्न लायो रातको हेर। कहाँबाट
ल्याएकी थिस् त्यो के जाति ग्लु?’ कृष्ण रिसाउँदा ‘नि तुलसीको काखमा भएकी
मोनिका दुःखित अनुहारसित आँसु झार्दै केही बोलिन। दस मिनेट जति ड्याडीको
लगातार गाली सुनिसकेपछि मोनिका निदाई मामुकै काखमा।
भोलिपल्ट बिहान चाडै नै उठिछ मोनिका। मुख धोएर खाटको सिरानपट्टिको खोपातिर
लागि। ड्याडीको रिस अझ मरेको रहेनछ। पोखे रिस- ‘के गर्न लागिस् फेरि अब?’
मोनिका आमाबाबुको सामु अलि भयभित उभिएर दुई हात पछाडि लगेकै हालतमा बोल्न
थाली।
‘ड्याडी! त्यो ‘सुप्पर ग्लु’ ले एकदम टालिन्छ भनेर बुढाबाले सिकाएर मैले
सान्काजी-बाको दोकानबाट ल्या’को। मामु र ड्याडी बिहे गरेर म जन्मेको। हजुर
दुई जनाको बिहे आजको दिनमा भा’को रैछ। मैले पत्ता ला’को। हजुर दुइटा सधै
मसँगै ‘ग्लु’ ले झैँ टास्सीराख्नुहोला भनेर मेरो तीनपाना चित्रलाई त्यो
सुप्पर-ग्लुले टाँस्न मन लायो। अबदेखि कैलेई तेस्तो गल्ति गर्दिन
ड्याडी-मामु। टासेर भ्याउँदा थाहा पाएँ मेरो दुई औला ‘नि टाँसीएको। धन्न
मैले चित्र बनाईसकेथें। सुप्पर ग्लु ले झैँ गडले अब मलाई हजुर दूइटाकै मनमा
टाँसीराख्नुहुन्छ। हेप्पी एनिवर्सरी ड्याडी मामु!’ आँसुसित मोनिकाले कार्ड
बुझाई बाउआमालाई।
त्यतिन्जेल दुबैजना आँसुमा डुबीसकेका थिए। कृष्णले कार्ड ओल्टाईपल्टाई
हेर्न थाले। तल आधार भएको तिन पाखे पिरामिड जस्तो कागजको आकृति। हरेक
पाटामा आफू, मामु र ड्याडीको चित्र कोरेर सुन्दर कलर भरेकी। धेरै वर्षपछी
‘ग्लु’ ले टासेको छोरीको हात अनि उसकै अनमोल एनिवर्सरी उपहारले कृष्णको
आँखामा आँसु नरोकिने गरी बगिरह्यो। मोनिकालाई तानेर तुलसीसँगै कृष्ण धेरै
दिनपछि अंगालोमा गुट्मुटीए।
भक्कानिएर बोली नआए’नी बोले कृष्ण- ‘आइ लव यु सानु। मलाई माफ गरिदेउ है। आइ
एम सरी, सानु!’ ती तीनजना धेरै बेर गुडुल्कीरहे आँशुसँग। मोनिका भित्रदेखि
मुस्काई। उसका आँखा भन्थे- आज उसको खुसी पूर्ण भयो।
त्यो दिन सबकुरा बिर्सेर पहिलोपटक कृष्ण अफिस गएनन्। तुलसी र छोरीलाई लिएर
घुम्न निस्केछन्। उनलाई त्यो दिन बिजनेसको, घाटा नाफाको, कमाईको गुमाइको
कुनै फिक्री देखिन्नथ्यो। उनी यसरी बदलिएथे कि तुलसी र मोनिकाका हर बोली र
चाल अवलोकन गरि आनन्द लिईरहेथे। उनलाई यति आनन्द कहिल्यै आएको थिएन। कृष्ण
भन्दैथिए- ‘खुसी खोज्न दस दिसा भौतारिएँ। असली खुसी चिन्न घरभित्रै एकछिन
आँखा खुले पुग्ने रैछ। बेलुकी फर्किदा सानकाजी-बाको पसलमा रोकेर ‘ग्लु’को
पैसा बुझाउन एउटा नोट दिए र ‘धेरै धन्यवाद सानकाजी दाई’ भन्दै हिडे कृष्ण।
‘बाबु, चेन्ज लिएर जानुस्’ भन्दै थिए भलादमी सान्काजी-बा। कृष्णले बाइकबाटै
भन्दै अघि बढे- ‘राख्नुस् सान्काजी दाई। त्यो ‘ग्लु’ को पैसा खास त्यतिले
‘नि कम हुन्छ।’ सान्काजी-बा ट्वाल्ल परे। तीनजना बोकेको बाइक स्वच्छन्द
हुईकीरह्यो।
साभार : सेतोपाटी
No comments:
Post a Comment