May 03, 2014

'कविता जुठो हुनुहुँदैन, बासी हुनुहुँदैन'


'कविता जुठो हुनुहुँदैन, बासी हुनुहुँदैन'

तेह्रथुमको साँव्ला स्कुलमा पढ्दाको बेला अभि सुवेदीले कवि तुलसी दिवसलाई देखेलाम्चा आँखा भएको, चिनियाँ दार्शनिकका झैं कपाल भएको, दौरासुरुवाल र ज्वारीकोटमा ठाँटिएको।
कुनै विद्यार्थी संगठनको कार्यक्रममा कविता वाचन गर्न पुगेका दिवसले यस्तरी कविता वाचन गरे, जस्तो कि पहाडी झरना छङछङ खस्छ। स्कुले विद्यार्थी अभिले आजसम्म संसारभरिका हजारौं कवि भेटिसके। कति त बिर्सिसके। तर दिवससँग भेटेको पहिलो दिन अझै स्पष्ट सम्झन्छन्।
समयक्रममा दुवैले लेखनमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका छन्। आफ्नो समयका यी दुई अग्ला, सुकिला कविहरु बिहीबार अपराह्न ठाँटका साथ गफिए। सन्दर्भ थियो, नेपाल भारत पुस्तकालयले थालेको मासिक साहित्यिक विमर्शको वर्षगाँठ। भारतीय कवि अभय कुमारको स्वागतसँगै उनीहरु मञ्चमा उक्ले।
धनकुटाका दिवस। तेह्रथुमका अभि। पूर्वी नेपालका यी दुई गाउँबुढालाई सुन्न आउनेले पुस्तकालय हलमा राम्ररी खुट्टो टेकाउन पाएनन्। पुस्तकालय स्रोतका अनुसार अभि र दिवसलाई सुन्न आउनेजति श्रोता यसअघि आएकै थिएनन्।
दिवस र अभि दुवै परे मुखर। वचनपिच्छे सूत्रवाक्य बोल्ने। सुन्धाराका माइक्रोबस र टेम्पोको हर्नलाई जित्ने गरी यी दुई सफाचट प्रौढहरु सक्दो कराए। बुढो हुँ भन्ने आभाससम्म दिएनन्।
'
दिवस दाइ संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो उपस्थितिको आभास दिइहाल्नुहुन्छ,' दिवससँग संवाद थाल्नुअघि अभि बोले। अनि कडा प्रश्न पछारे, 'पहिले सरल लयका कविता लेख्नुहुन्थ्यो, पछि किन जटिल?'
वाचाल दिवसले कविताकै शैलीमा फर्काए, 'मेरो कविता पहिले पनि सरल थिएन, जति ठानियो। अहिले पनि जटिल छैन, जति ठानिँदै छ।'
सुन्ने मान्छे पाए भने दिवस धाराप्रवाह बोल्छन्। बिहीबार त्यो मौका मिलेन, स्पिडब्रेकर अभिको कारणले। ४२ वर्ष उभिएरै लेक्चर दिएका अभि आफ्ना लागि छुट्याइएको कुर्सी पन्छाएर उभिए। त्यसपछि त के चाहियो! दिवस पनि उठे।
दिवसले लेख्य भाषामा कविता सीमित हुन नहुने बताए। 'थ्री भी' अर्थात्, भोकल, भिजुअल, भर्बल। अब कविता बोलिने, सुनिने र देखिने हुनुपर्ने उनको मत थियो। 'मान्छेले आजसम्म आर्जन गरेका भाषाहरुको सबैभन्दा विशिष्ट शैली हो कविता,' दिवसले अर्को सूत्रवाक्य थपे।
झर्रो पूर्वेली लवज बोल्ने अभिले पछिल्ला छिमलका कतिपय कविबारे दुईचार सिकायत गरे। 'कवि हुँ भन्दै आफूसँग आफैं उत्तेजित हुँदै हिँडेका छन्। अनेक अनेक ग्रुप बनाएर हिँडेका छन्। वाह, मैले क्या लेखें भन्ठान्या छन्,' उनले कटाक्ष गरे, 'दिवस दाजु त्यस्तो हुनुहुन्नथ्यो। कविता लेखेकैले यति लोकप्रिय हुनुहुन्थ्यो कि, नेपाली कविताको शाहरुख खान नै हो उहाँ। केटी फ्यान त कति कति। कविताकै भरमा उहाँलाई पत्याउँथे भन्या। खान, भेट्न निम्त्याउँथे।'
अनि अविवाहित दिवसलाई नै सोधे, 'तपाईंको यो शाहरुखसिन्ड्रोमले तपाईंका कविता र स्वयं जिन्दगीलाई कहाँ पुर्यायो?'
तुलसी राता भए। अनि नोस्टाल्जिक हुँदै फर्काए, 'कहाँ पुर्या्यो भन्नु! त्यो बेला बाक्लो कपाल थियो, अहिले अलिअलि मात्र छ। केटी नै केटी पढ्ने पद्मकन्या क्याम्पस पढाउँदा ५ हजारभन्दा बढी अटोग्राफ दिएँ हुँला। यी अहिले पनि हेर्नुस्, मेरा कवितामा दम नभएको भए अटाइनअटाइ यतिका तपाईंहरु किन आउनुहुन्थ्यो!'
लेखक प्रकाश ए राजले पछिल्लो समयमा कवितालाई इन्टरनेटलगायत सूचनाप्रविधिका माध्यमले असर पार्न थालेको चिन्ता जनाउँदै दिवसलाई सोधे। दिवसले ग्याजेट र प्रविधिसँग कविता डराउनु नपर्ने बताए, 'इन्टरनेटले कविता मार्दैन। मान्छे मर्योव भने कविता मर्छ। कविता मर्योह भने मान्छे मर्छ।'
अभिले कुनै प्रश्न बाँकी राखेनन्। सोधे, 'तपाईंका समकालीनहरु विभिन्न साहित्यिक आन्दोलनमा लागे। तपाईंको चिन्तनले किन आन्दोलनको स्वरुप लिन सकेन?'
दिवसले फर्काए, ', यो त बिर्सिसकेको प्रश्न। त्यो पञ्चायतको बेला थियो। कसैको झोला बोकेर हिँडिएन। त्यसो गर्दैमा कवि भइन्न। कविता रचना एउटा अनुष्ठान हो। श्रोता र पाठकको ताली आश गरेर कविता लेख्नुको कुनै अर्थ छैन।'
दिवसले उल्टै अभिलाई सम्झाए, 'त्यो बेला तिमी सानै थियौ, तर कलिलो उमेरमा पनि यस्तै पाका प्रश्न गर्थ्यौ।'
पुख्खली अभिलाई बोलेर कसले सक्ने! टुच्च एक लाइन फर्काए, 'अहिले पनि म कहाँ पाको भइसकेको छु र!

  •  
  • साभार

http://www.nagariknews.com/entertainment/other/story/13027/13027#sthash.qj1X3ucw.dpuf

No comments:

Post a Comment