मूलबाटोको छेउमा
बर्षौदेखि छु
खै कहिले जन्मे
कसले जन्मायो
थाहा पाउनेहरु
माटो नै बनि सके होलान्
छातीमा उम्रेका बर पीपल
अजङ्ग भएका छन्
चारैतिर दौडन खोज्दै छन् हाँगा हरु
तर म थेप्चिएको छु
तिनकै तल
मैलाई टेकेर चढी रहेछन
फूल पातीहरु
हाँगामा कैंयौ चराहरु
आएर बसेका छन्
कैंयौ उडेका छन् उसै गरी
तर तिनले खसाएका पहेला पातहरु
र बिस्टाहरु भने कटकटिएका छन्
मेरा छपनीभरि
मलाई साक्षी बनाएर
कति प्रेमका फूल फूले
कति पत्र पत्र चुडीए
जन्ती ले डोली बिसाउदा पनि
मलामी फर्केर सुस्ताउदा पनि
उस्तै छु म बर्षौदेखि
बोधीसत्वको खोजीमा
वुद्ध पनि आए यहि
कहिले बन्दुकको नाल ठोक्दै
कहिले बारुद र बम को झोला बिसाउदै
धेरै योद्दा पनि आए यही
राम पनि आए
रावण पनि आए
चोर पनि आए
साधु पनि आए
उड्ने हरु एही बाटो उडे
फर्कने हरु यहीं पसिना
ओभाउन आए
कहिले हर्षको मात
कहिले दु;खको आँशु
लिएर आए
तर म
नयाँ पात पलाउदा पनि
र ती फेरी पहेलिएर
झर्दा पनि
हरेक निमेषको साक्षी हुदा हुदै
मुकदर्शक बसी रहेछु वर्षौ देखि
यसरि नै !
साभार : सेतोपाटी
No comments:
Post a Comment